आज नागपञ्चमी पर्व, घरका मूलढोकामा टाँसेर मनाइँदै

धादिङ, १७ साउन ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।
यो दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि विषालु जीवको भय नहुने विश्वास छ । नागपूजनका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ । चट्याङले घरमा कुनै किसिमको हानि नोक्सानी नपु¥याओस् भन्ने उद्देश्यले बज्रवारकहरूको पूजा गरिन्छ । मूलढोकामा नागको तस्विर टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ ।
विशेषगरी गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुबो, धानको लाबा आदि वस्तु चढाई चन्दन, पुष्प आदिले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि शास्त्रमा उल्लेख छ । एकातिर भगवान् शिवको गहनाको रूपमा सर्प रहेका छन् भने अर्कातिर भगवान् विष्णुको आसनको रूपमा शेषनाग रहेका छन् ।
यसैले हिन्दुधर्ममा नागको महत्त्व महत्वपूर्ण मानिएको छ। अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नागका आठ प्रकार रहेको उल्लेख छ ।
कृषिप्रधान मुलुक भएकाले सर्प र मानिसबीचको दूरी हटाउन यो पर्वको महत्त्व रहेको छ । साथै नाग वा सर्पको बासस्थानको रूपमा रहेका पानीका स्रोतलाई स्वच्छ र पवित्र राख्न यो दिनले प्रेरित गर्छ ।